भोजपुर, ९ माघ (रासस):
सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ । दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो ।
सडकको पहँुच विस्तार भएपछि स्थानीयमा व्यावसायिक धाराणाकोसमेत विकास भएको छ । पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएपछि मानिस व्यावसायिक खेतीमा जुटेका छन् । आफ्नो बारीमा उत्पादन भएको कृषिउपज कुहिएर गइरहेको अवस्थामा सडक पुगेपछि यहाँको उत्पादनले बाह्य बजारमा स्थान पाएका छन् ।
भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादन बाहिर पठाउन सहज भएको हो । आजभन्दा करिब नौ वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । सडक विस्तारले अहिले गाउँघरका कुना÷कुनामा उत्पादन भएका आलु, मकैलगायत कृषिउपज सहरका बजारमा पुग्न थालेका छन् । हुन त भोजपुर जिल्लामा सडकको विस्तार भएको लामो समय भएको छैन । यहाँ २०६५ सालमा हेलिकप्टरबाट जिप ल्याएको इतिहास छ ।
छिमेकी जिल्ला धनकुटामा सडक जोडिएको ३० वर्षपछि यहाँ कच्ची सडक खनिएको स्थानीय जानकार गणेश श्रेष्ठको भनाइ छ । यहाँ २०५६ सालबाट तत्कालीन ग्रामीण सडक परियोजना (¥याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उहाँको भनाइ छ । “तुलानात्मक रुपमा भोजपुरमा सडकको विकास ढिला नै भएको हो”, उहाँले भन्नुभयो, “सडक पहँुचमा जोडिएपछि भोजपुरको मुहारमा नै परिर्वतन आएको छ । सडकले अहिले ग्रामीणस्तरसम्म प्रत्यक्ष लाभ पुगेको छ ।”
नुन, चामल, मट्टितेल दश दिनसम्म लगाएर ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयवासीले भोगेका छन् । नुनको जोह गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय ७३ वर्षीय वृद्ध मानबहादुर विष्ट सुनाउनुहुन्छ । “सडक विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “सडक नहुँदा नुन, तेल चामल दश दिनसम्म बोकेर जीवनयापन गरेको अनुभव छ । हाम्रो पाला बस चड्न पाइँदैनजस्तो लाग्थ्यो ।अहिले आफ्नै घरको करेसाबाट बस गुड्छ । गाउँगाउँसम्म मोटर बाटो पुगेको छ । अहिलेको पुस्तालाई सहज छ ।”
एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्रे भएको छ । यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्वाई करिब एक सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस, भोजपुरबाट दैनिक काठमाडाँै, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् । राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको ढोकारुपमा रहेको छ । काठमाडौँसम्मको छोटो सडक सञ्जालसँगको रुपमा जोड्नका निमित्त जिल्लाको पश्चिमी क्षेत्रको देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । अहिले यो बाटो भएर मानिस दशदेखि बाह्र घण्टामा काठमाडौँ पुग्न थालेका छन् । छोटो सडकमार्ग बनेपछि यहाँका बास तथा अन्य सामग्री सोझै काठमाडाँै लैजान थालिएको छ ।
पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, सिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोटाङ, अन्नपूर्णलगाउत ठाउँलाई छोएर यो सडक विस्तार गरिएको छ । यहाँ नागरिकले अहिले कालोपत्रे सडकबाट आफ्ना कृषिउपज बिक्री गर्ने अवस्था बनेको छ । एक दिनसम्मको पैदलयात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् ।
यस क्षेत्रमा उत्पादन भएका कृषिउपज अहिले काठमाडाँै, धरान विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । सडकको सहज पहुँच भए पनि स्थानीय व्यावसायिक खेतीमा आकर्षित भएका छन् । उत्पादन भएको कृषि उपजक किन्नको लागि ठेकेदार घरमा नै पुग्ने गरेको टेम्केमैयुङका कृषक पासाङ शेर्पाले बताउनुभयो ।
कच्ची नै भए पनि सडकको उपभोग गर्न पाउदा जनजीवन सहज बनेको उहाँको भनाइ छ । “सडकले विकासको लहर आउने रहेछ”, उहाँले भन्नुभयो, “पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको आलुलगायत सामग्री बिक्री गर्न समस्या थियो । बेँसीमा लगेर धानसँग साटेर खानुपर्ने अवस्था थियो । अहिले सडक आएपछि घरबाट नै बिक्री गर्न पाएका छौँ ।” सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धाराणाको विकास भएको स्थानीय कृषक मनमाया विष्टले बताउनुभयो । धेरै परिमाणमा उत्पादन गर्नसके बिक्रीको लागि कुनै पनि समस्या नरहेको कृषक विष्टको भनाइ छ । खास गरेर मानिसमा व्यावसायिक धाराणा विकास नहुँदा देश कृषिमा पछि परेको उहाँको भनाइ छ ।
“कृषिमा व्यावसायिक भएर लाग्न सके जीवनयापन गर्न कठिन छैन”, उहाँले भन्नुभयो, “विगतमा उत्पादन भएको सामग्री बजारसम्म लैजान समस्या थियो । अहिले घरको आँगनबाट खाली ट्रक कुदिरहेका छन् । उत्पादन गर्न सक्यो भने बिक्रीको लागि बाहिरका सहर पठाउन कठिन छैन ।”
–––