पर्वत । पाेखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमा १० जना पर्वतका रहेका छन् । उनीहरूकाे सनाखत भएकाे हाे ।
आज आइतबार बिहान १०ः३३ बजे काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।
साे दुर्घटनामा परि पर्वतका १० जनाले ज्यान गुमाएका हुन् । जसमा: कुश्मा नगरपालिका- १४ आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल,
कुश्मा नगरपालिका- ९ कटुवाचौपारीका अरुण पौडेल, प्रसिद्धी पौडेलका (बुवा/छोरी), कुश्मा नगरपालिका- १ पाँगका रचना काफ्ले, रिहान पौडेलका (आमा/छोरा), मोदी गाउँपालिका- १ भुकदेउरालीका विजय गुरुङ, विहादी गाउँपालिका- ५ उराम पोखराकी जमुना शर्मा, युवराज शर्मा, आरुबी शर्मा र वेबी शर्मा (आमा,छोरा,नाती,नातिनी) रहेका छन्।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन-एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका ६२ जनाको शव निकालिएको छ भने बाँकीकाे खाेजिकार्य जारी छ ।