एजेन्सी । नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण गरेको छ ।
उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते भएको प्रहरी र प्रशासनका अधिकारीहरूले सोमबार बताएका छन् ।
प्रायःजसो नाइजेरियाली उत्तर-पश्चिमी र केन्द्रीय राज्यहरूमा फिरौतीको लागि अपहरण एक प्रमुख समस्या हो । यहाँ बन्दुकधारीहरूले ठूलो समूहमा मानिसहरूलाई बारम्बार आक्रमण र अपहरण गर्ने गरेका छन् ।
लागोसबाट ३६० किलोमिटर पूर्वमा रहेको एडो राज्यको रेल स्टेसनमा बनिबार राति आक्रमण भएको हो ।
दक्षिणी डेल्टा राज्यको वारीमा रेलको पर्खाइमा रहेका यात्रुलाई अपहरण गर्नुअघि बन्दुकधारीले गोली चलाएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
इदो राज्यका सूचना आयुक्त क्रिस नेहिखारेले ३२ जनाको अपहरण भएको बताएका छन् । प्रहरी र स्थानीय स्वयमंसेवकले बाँकी अपहरित व्यक्तिको खोजी गरिरहेको छ ।
उहाँले भन्नुभयो,'हामीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छौं । हामीलाई वनको भूगोल उनीहरूलाई भन्दा राम्रोसँग थाहा छ ।'
गत वर्षको मार्चमा राजधानी अबुजाबाट उत्तरपश्चिमी शहर कादुनातर्फ जाँदै गरेको रेलको लिकमा विष्फोटक पदार्थसहित बन्दुकधारीले आक्रमण गरेका थिए । उक्त आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने दर्जनौं अपहरणमा परेका थिए ।
उक्त घटनाका अन्तिम बन्धकहरूलाई रिहा गरिएको आठ महिनापछि मात्र रेल सेवा पुनः सुरु भएको थियो ।