कहाँ छौ, कस्तो छौ
खाना खायौ, भोकै छौ
‘केयर’ हुने गर्थ्यों कुनै बेला जो,
आज
‘इण्टरफेयर’ भएको छ,
आऊ, अब डिभोर्स गरौँ!
आँखा बाट सुरु भएथ्यो
कत्ति छिट्टै मन सम्म गएथ्यो
प्रेमको सुन्दर ‘सरप्राइज’ थियो जो,
चीसा खुट्टाहरु बिस्तारै तातेपछि
सिन्दूर संग शरीर साटेपछि
‘कम्प्रोमाईज’ लाग्न थालेको छ,
आऊ, अब डिभोर्स गरौं !
हुन्छ नि,
तिमी खुसी छौ भने ‘ओके छ त’
तिम्रो ओंठमा हाँसो बाहेक
मेरो अर्को चाहना नै के छ त !
सम्पूर्ण समर्पण थियो जो,
आज ‘फ्रीडम र सेल्फ रिस्पेक्ट’को
गह्रूँगो भारीले थिचिएको छ,
आऊ, अब डिभोर्स गरौँ !
आज लाग्छ-
साँचो प्रेम त केवल
किताब र सिनेमामा हुन्छ,
जिन्दगी त व्यावहारिकतामा पो चल्छ !
‘सो कल्ड प्राक्टिकल’ बन्ने होडमा
नाफा-घाटाको गठजोडमा
‘भ्याल्यू’ नै ‘भ्याल्यूलेस’ भएको छ,
आऊ, अब डिभोर्स गरौँ!
सुन्दर त्यो प्रेमकहानीमा
तिम्रा हरेक आनीबानीमा
मज्जैसँग हारेको थियो दिल जो,
अचेल स-साना गल्तीहरुमा हार्न जान्दैन !
मानवीय कमजोरी हुन भनी टार्न मान्दैन !
आऊ, अब डिभोर्स गरौँ !
तिमी नहुँदा कुनै दिन
खाली खाली थियो मन जो,
तिमी पाए पछि कत्ती छिट्टै भरियो
देखिन थालेपछि अर्कैको बारी हरियो
आऊ, अब डिभोर्स गरौँ !
रातरात भर जागेर लेखेका चिट्ठीहरूको चमक
दुई अक्षरका ‘मेसेज र ईमोजी’ले मेटिन थाले पछि
बिस्तराका खुसीहरु
बजारमा भेटिन थाले पछि
आऊ, अब डिभोर्स गरौँ !
आफ्नै संग त हो हाँस्ने पनि रूने पनि
आफ्नै संग त हो रिसाउने पनि खुसाउने पनि
के फगत अभिनय थिए ती प्रतिवद्घताहरु ?!
झुक्नु भन्दा टुट्नु जाति लागेपछि,
मायाको अर्को नाम माफी हो भन्थ्यौँ कुनै दिन
पग्लेर जोडिनु भन्दा जमेर फुट्नु जाति लागेपछि,
आऊ, अब डिभोर्स गरौँ !
आकर्षण थियौँ कुनै दिन
आवस्यकता बन्यौँ एक दिन !
आवस्यक पनि यति भयौं कि
थाहै नपाई एक अर्काको आदत बन्यौँ बाँकी दिन !
थाहा छ दुवैलाई,
सकल अंग चुंडालेर फाल्नुभन्दा
कैयौं गुणा कष्टकर हुन्छ
आदत बिर्सेर बाँच्न जिन्दगी !
सबैले गरे झैँ,
विज्ञापन गरौँला हामी पनि पनि,
अर्को जीवन पाएँ भन्दै !
अभिनयमै सही,
आऊ, अब डिभोर्स गरौँ!
‘नट अ बिग डिल’….
विदेश तिर पनि डिभोर्स गर्छन रे,
हाम्रा धेरै साथीहरुले पनि डिभोर्स गरे रे !
कति ठुला ठुला मानिसको त डिभोर्स हुन्छ रे !
डिभोर्स पछि लाइफ ‘चिल्ड एण्ड बिन्दास’ हुन्छ रे !
आऊ, यिनै ‘रे’ हरुलाई सुनौँ,
आफ्ना गल्तीहरुको ‘एक्स-रे’ नगरौँ
र
‘रे रे’ मै डिभोर्स गरौं !
नखोजौँ-
तिमीमा के कमजोरी छ
ममा के कमजोरी छ,
नसोधौँ-
तिम्रो मन के चाहन्छ
मेरो मन के चाहन्छ !
गर्ने बेला प्रेम
कोही चाहिएको थिएन हामीलाई,
आज अड्डा चाहिएको छ
अदालत चाहिएको छ
सम्पत्ति चाहिएको छ
अधिकार चाहिएको छ !
जो भएपछि
कोही र केही चाहिन्न भनेर जोडिएथ्यौँ,
आज सबथोक भएपछि
उही चाहिन्न भनेर छुट्टिऊँ
आऊ, अब डिभोर्स गरौँ !
कवि: हेमन्त गिरी