मुलुकको पूर्व-पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको तेस्रो राजमार्ग हो, मध्यपहाडी राजमार्ग । नेपालमा हाल निर्माणाधीन यस राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ ।
पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छने यस राजमार्गकाे कुल लम्बाइ १७७९ रहेकाे छ । जसमध्ये ४६२ किमी अन्य आयाेजनाबाट निर्माण भएकाे छ भने अब १४१७ किमी बाँकी रहेकाे छ । यसकाे साथै यस याेजना अन्तर्गत १३७ वटा पूल निर्माणकाे लक्ष्य लिइएकाे छ ।
मध्य पहाडका २६ जिल्लाहरूका २१५ वस्तीहरू जोड्दै निर्माण हुने यस सडकबाट मध्य-पहाडमा बसोबास गर्ने करीब १ करोड जनता यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने आँकलन गरिएकाे छ । यस आयोजनालाई आव ०६७/६८ देखि २ खण्डमा विभाजन गरी मध्यपहाडी पूर्वखण्डकाे करिब ७२१ किमी र मध्यपहाडी पश्चिमखण्ड करिब ११५८ किमी गरी २ वटा आयोजनाबाट निर्माण कार्य भइरहेकोमा आव २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालयहरू (पाँचथर, काभ्रे, गोरखा, पर्वत, दैलेख) बाट निर्माण कार्य भइरहेकाे छ ।
कुल ८४ अर्ब ३३ करोड लागतकाे साे याेजनमा आव २०७८/७९ को हालसम्मको वित्तीय प्रगति ७१.०३% र भौतिक प्रगति ६५.५५% रहेकाे छ । आव २०७९/८० को कार्तिक मसान्तसम्म कुल १८७९ मध्ये आयोजनाबाट ८२५ किमी, अन्य निकायबाट ४६२ किमी गरी १२८७ किमी कालोपत्रे, कुल १३७ पुल मध्ये ९४ वटा पुल सम्पन्न, ४३१ किमी सडक र २८ वटा पुल निर्माणाधिन तथा १६१ किमी सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेकाे छ ।
यस आयाेजनाअन्तर्गत अब साना खालका ८ वटा पुल मात्र बनाउन बाँकी छन् । साथै, १६१ मध्ये ६१ किमि हालै ठेक्का ब्यवस्थापन भइ करिब १०० किमि मात्र ठेक्का गर्न बाँकी रहेको छ
आर्थिक वर्ष ०६४/६५ बाट सुरु भएकाे यस याेजना आव ०७३/७४ मा सकिनुपर्ने भएपनि विभिन्न बाधा र अवराेधका कारण समयमै सम्पन्न हुन सकेन । त्यसैले यस याेजना निर्माण सम्पन्नका लागि आव ०७९/८० सम्मकाे लागि म्याद थप गरिएकाे हाे ।
यस आयाेजना निर्माणका मुख्य समस्याहरू रुख कटान प्रक्रिया झन्झटिलो/लामो समय लाग्नु हाे । यस आयाेजना निर्माणका क्रममा प्रभाविन क्षेत्र: गोर्खा, नुवाकोट तथा लमजुङ जिल्लामा समस्या मुख्य रुपमा यस्ताे समस्या आएकाे थियाे जसकाे कारण पनि आयाेजना सम्पन्न गर्न ढिलाई भएकाे बताइएकाे छ ।
यसका साथै, आयाेजना निर्माणका क्रममा निर्माण सामग्री अभाव तथा उत्खनन विवाद Utility Relocation कार्य विवाद, मुआब्जा/क्षतिपुर्ति विवाद, सडक सीमा एकिन नभएको, निर्माण व्यवसायीको ढिलासुस्ती र प्रतिकुल मौसमका कारण आयाेजना समयमै सम्पन्न हुन नसकेकाे निर्माण पक्षकाे भनाइ छ ।
निर्माण पक्षका अनुसार रुख कटान सम्बन्धि प्रावधान सरल र छिटो गराउन आवश्यक ऐन, नियम तथा निर्देशिकाको व्यवस्था हुनुपर्ने भएकाे यसकाे निर्माण कार्यमा सहजता हुनुका साथै छिटाे सम्पन्न हुने देखिन्छ । साथै, वन क्षेत्रको जग्गा सरल र छिटो तरिकाले उपलब्ध हुने व्यवस्था हुनुपर्ने, IEE, EIA र जग्गा प्राप्तिको कार्य सहज बनाउन मौजुदा ऐन, नियम तथा निर्देशिकामा विशेष व्यवस्था हुनुपर्ने तथा निर्माण सामाग्रीको उत्खनन/प्रयोग सहज गराउन विशेष व्यवस्था हुनुपर्ने निर्माण पक्षका माग रहेका छन् ।
यसका साथै, सडकको रेखाङ्कन र सडक सिमा एकिन भइसकेपछी जग्गाको लगत कट्टा सरल र छिटो तरिकाले हुने व्यवस्था हुनुपर्ने निर्माण पक्षकाे माग रहेकाे छ । विद्युतका पोल, खानेपानीका पाइप, पुरातात्विक/सांस्कृतिक/धार्मिक महत्वका मठ मन्दिर स्थानान्तरणको लागि उच्चस्तरीय समस्या समाधान तथा समन्वय समिति बाट सहजिकरण हुनुपर्ने देखिएका कारण यसकाे लागि पनि सहज वातावरण बनाइनुपर्ने निर्माण पक्षकाे माग रहेकाेा छ ।
यसैगरी, रणनैतिक सडकहरुको सडक सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशनको लागि आवश्यक पहल गर्नुपर्ने निर्माण पक्षकाे माग रहेकाे छ ।
आयोजना सुरु गर्दा यसको लम्बाइ १७ सय ७६ किलोमिटर हुने रेखाङकन गरिएको थियो । तर विभिन्न ठाउँमा एलाइनमेन्ट परिवर्तन गर्दा यसको लम्बाइ १ सय ३ किलोमिटर बढेर १८ सय ७९ किलोमिटर पुगेको छ । यो लम्बाइ पछिल्लो डीपीआरअनुसार तय भएको हो । बनिसकेका सडकलाई लिइएको र यसअघि सडक बनाउने तय भएको स्थानमा आयोजनाहरु परेकाले कतिपय स्थानमा एलाइनमेन्ट परिवर्तन भएको आयोजना दिर्नेशक बताउँछन् । सुनकोसी र बुढीगण्डकी आयोजनाका कारण नेपालथोकदेखि गोरखाको पालुङटारसम्मको अलाइनमेन्ट परिवर्तन भएको हो । त्यसैले अन्य स्थानमा पनि आयोजना परे वा समस्या देखिए मध्यपहाडी राजकमार्गको लम्बाइ थपघट हुन सक्ने निर्देशककाे भनाइ छ ।
विभिन्न बाधा र अवराेधका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेकाे यस आयाेजना निर्माण सम्पन्न गर्नकाे लागि सम्बन्धित सबै पक्षबाट साथ र सहयाेग मिलेसम्म आफूहरूले आव ७९/८० मा यसकाे निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षकाे दाबी छ । साथै यसकाे लागि सहयाेग गर्न आयाेजना निर्देशन तथा निर्माण पक्षले अनुराेध समेत करेकाे छ । ठूला याेजनाहरू निर्माण गर्दा अवराेधहरू आउनु सामान्य रहेकाे तर यसकाे लागि आगामी दिनमा सम्बन्धित पक्षकाे साथ मिल्नेमा विश्वस्त रहेकाे निर्माण पक्षकाे भनाइ छ ।