‘कहिलेकाहीँ यसरी पनि रहर पुग्छ
एक प्रेमी सपनामा प्रेमिकाको घर पुग्छ’
गजलकार प्रदीप रोदन सोमबार साँझ पोखरामा गजल सुनाउँदै हुनुहुन्थ्यो । उता सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक बस्दै थियो । सपनामा भुलिरहेको प्रेमीको मनादेशलाई गजलको पहिलो शेरमा उतार्नुभएका रोदनले दोस्रो शेरमा भने राजनीतिकर्मीमाथि झटारो हान्न भ्याउनुभयो ।
‘बा, उनीहरु कसरी पुग्छन् सरकारमा
बाबु, जसरी आँखामा कसङ्गिर पुग्छ’
फेवा किनारको बाराहीघाटमा आयोजित छ दिन लामो साहित्य महोत्सवको मैजारो रोदनका गजल सँगसँगै भयो । आधा घण्टा महफिलमा जम्नुभएका रोदनले आफ्ना चर्चित गजल पोखरेली साहित्यप्रेमीमाझ सुनाउनुभयो ।
‘जसले जोगायो उसैका लागि फूल मर्न सक्दैन
काँडाले चाहेर पनि आफैँलाई कोर्तन सक्दैन
प्रेमिकाको सल र मफलर पासो बन्न सक्ला
आमाको पछ्यौराले यस्तो पाप गर्न सक्दैन
हर साँझ गिलासमा सराब भर्न सक्छ छोरो
बा–आमाको ओँठमा हाँसो किन भर्न सक्दैन’
विषय गाम्भीर्यता, समयचेत, जीवनको मूल्यबोध र समाज चित्रणका दायरामा रोदन उत्कृष्ट गजल लेख्न सक्ने प्रतिभा हुनुहुन्छ । ‘रोदन महफिल’ नाम दिइएको उक्त कार्यक्रमका प्रस्तोता अमृत सुवेदीले रोदनले नेपाली गजललाई नयाँ उचाइ दिएको बताउनुभयो ।
“उहाँ आफूमात्र चर्चाको शिखरमा पुग्नुभएको छैन, गजललाई पनि उचाइ दिनुभएको छ”, सुवेदीले भन्नुभयो । गोरखामा शिक्षण पेशा गरिरहनुभएका रोदन समकालीन नेपाली साहित्यमा अब्बल गलजलकारका रुपमा चिनिनुहुन्छ । आयोजक ‘बुकवर्म फाउण्डेशन’ले दुई वर्षअघि पोखरामै भएको साहित्य महोत्सवमा पनि उहाँलाई उभ्याएको थियो ।
रोदनको गजल प्रस्तुतिसँगै दशौँ संस्करणको साहित्य महोत्सव सकिएको आयोजक सदस्य केशवशरण लामिछानेले बताउनुभयो । सोमबार चलेका दसवटा सत्रमा रानजीतिज्ञदेखि कवि, लेखकसम्मले अन्तरसंवाद गरेका थिए ।
‘राजनीतिमा समाजको ऐना’ सत्रमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रस्तुत हुनुभएको थियो । अन्य सत्रमा सङ्घीयता, अर्थतन्त्र, गीतमा आञ्चलिकता, रैथाने उत्पादन इत्यादि विषयमा छलफल गरिएको थियो ।
गत बुधबार कवि नवराज पराजुली र गायक उज्जवल सागरको प्रस्तुतिबाट शुभारम्भ भएको महोत्सव गजलकार रोदनको प्रस्तुतिसँगै समापन भएको हो । महोत्सवमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्ति सहभागी बनेका थिए ।
पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका ज्ञाता र विषय विज्ञले कला, साहित्य, सङ्गीत, चलचित्र, राजनीति, अर्थतन्त्र, खेलकुद, पर्यावरण, प्राणी जगतलगायत विषयमा बहस र संवाद गरेका थिए । अर्थशास्त्री प्रा डा अच्युत वाग्लेको आउँदो दशको नेपालमाथिको विद्वत प्रवचनदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘राजनीतिबाहिरको जीवन’सम्मका सत्रले महोत्सवलाई बहुआयाम र रोचकता प्रदान गरेको थियो ।