काठमाडौँ, ३ पुस. रासस):
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले राष्ट्रिय ललितकला प्रदर्शनी २०८० का लागि कलाकृति उपलब्ध गराउन नेपाली कलाकारलाई आह्वान गरेको छ । यही पुस मसान्तसम्मको समयसीमा तोकेर कला प्रदर्शनीका लागि आफ्ना सिर्जना उपलब्ध गराउन आह्वान गरिएको प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ गर्दै आएको छ । यो प्रदर्शनीलाई नेपाली ललितकला क्षेत्रको महाउत्सव नै मानिन्छ । विगतमा कोभिड–१९ का कारण केही असर परे पनि उक्त प्रदर्शनी नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतिष्ठानले प्रदर्शनीका लागि परम्परागत चित्रकला (पौभा तथा थाङ्का) आधुनिक चित्रकला (चित्र तथा मुद्रणकला), परम्परागत मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला), हस्तकला÷शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायत विधाका कलाकृति प्रदर्शनीमा सहभागी गराइने जनाएको छ ।
अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीका कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा श्रव्यदृश्यकला पनि समावेश गराइनेछ । प्रदर्शनीमा सहभागी हुन कलाकारले एक वर्षभित्रै सिर्जना गरेका, मौलिक, तथा अन्य प्रदर्शनीमा सहभागी नगराइएका कलाकृति उपलब्ध गराउनुपर्ने कूलपति कर्माचार्यले जानकारी गराउनुुभयो । हुबहु नक्कल गरिएको कृति समावेश गराउन नपाइने तथा १८ वर्ष पुगेका कलाकारले मात्रै सहभागिता जनाउन पाउने नियम रहेको पनि उहाँले बताउनुभयो ।
यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ ।
विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिने छ । यस्तै हरेक प्रदेशबाट एक÷एकजना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र ती पुरस्कारको राशि पनि जनही रु २५ हजार नै रहने जनाइएको छ । उक्त प्रदर्शनी महिनाव्यापी हुने छ ।
गत वर्ष गरिएको प्रदर्शनीमा तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका थिए ।
–––