दाङ, ३ पुस (रासस):
तीनतिर जङ्गल, पश्चिमतर्फ कलकल बग्ने बबई नदी । नदी किनारबाट बढीमा १५ मिटर पर पूर्वतर्फ छ प्राकृतिक पुरन्धरा झरना । पैँतालीस मिटर उचाइको सो झरनाबाट सफा पानी झरेको दृश्य तथा पानी झरेको आवाजबाट आनन्द लिनेहरु अहिले सो तालमा पुग्ने गरेका छन् । यो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ ।
दाङको बबई गाउँपालिका वडा नं ५ मा पर्ने पुरन्धरा झरना यतिखेर पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समयमा जिल्लामा आन्तरिक पर्यटनमा जाने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । आफ्नो कार्यालय तथा विद्यालयमा केही दिन लामो बिदा परेमा यहाँका स्थानीय परिवारका साथ घुमघाममा निस्कने गर्न थालेका छन् । यसकारण यहाँका केही पर्यटकीयस्थलमा मानिस खचाखच देखिने गरेको पनि पाइएको छ ।
झरनाबाट खसेको पानी पोखरीको आकारमा तल जम्मा हुन्छ । सो पानी त्यहीँबाट विस्तारै बबई नदीमा गएर मिसिन्छ । यहाँ झरनाको अवलोकन गर्न आउने पर्यटक त छँदैछन्, उता गर्मीयाममा झरनाको फेदमा जम्मा भएको पानीमा पौडी खेल्ने पनि हुने गर्दछन् ।
अहिले सो झरनाको अवलोकन गर्ने, त्यस वरपरको जङ्गल एवं बबई नदी किनारको प्राकृतिक सौन्दर्यको आनन्द लिएर घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि जाने दैनिकरुपमा बढ्न थालेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार हाल त्यहाँ दिनमा कम्तीमा पनि चार सय जना मानिस पुग्ने गरेका हुन् ।
यसरी आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढ्दै गएकाले झरनाको व्यवस्थापनका लागि एक जना कर्मचारीको पनि व्यवस्था गरिएको छ । यस झरना संरक्षण एवं व्यवस्थापनमा खटिएका एक जना कर्मचारी कुलबहादुर बुढाले झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको जानकारी दिनुभयो । यहाँ आउने पर्यटकबाट सवारीसाधन पार्किङको शुल्क लिने गरिएको उहाँले जानकारी दिनुभयो । यसबाट पनि दिनमा कति व्यक्तिले सो झरनाको भ्रमण गर्छन् भन्ने थाहा हुने उहाँले जानकारी दिनुभयो ।
विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको छ । झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने गरिएको जानकारी उहाँले दिनुभयो ।
झरनाको संरक्षण एवं व्यवस्थापन तथा त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सकिएमा यसबाट पर्यटक अहिलेको तुलनामा थप आकर्षित हुने र यहाँ स्वदेशी तथा विदेशी पर्यटक तान्नसक्ने सकिने झरना अवलोकनका लागि तुलसीपुरबाट पुग्नुभएकी ४८ वर्षीया राधा पाण्डे बताउनुहुन्छ । झरना क्षेत्रको संरक्षणमा सबैले पहल गर्नुपर्ने उहाँको सुझाव छ ।
यसरी यहाँको झरनाको मात्र नभएर यस क्षेत्रको प्राकृतिक सौन्दर्यको निरीक्षणका साथै यहाँको जैविक विविधताको अध्ययन अनुसन्धान एवं बबई नदीमा जलविहारको पनि व्यवस्थापन गर्न सकिने उहाँको सुझाव छ ।
उहाँले विगतका वर्षमा नागरिकले गरेको अथक संरक्षण र राज्यका निकायले गरेको सहयोगले नै अहिले जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा पुरन्धरा झरना परिचित रहेको भए तापनि अबका दिनमा यसमा पनि थप सुविधा र संरक्षणको चासोमा विस्तार गरी अगाडि बढ्नुपर्ने सुझाव पनि दिनुभयो ।
झरना हेर्न कोहलपुरबाट आउनुभएका ४५ वर्षीय भीमप्रसाद रेग्मीले पहिलोपटक यहाँ आउँदा निकै आनन्द लागेको बताउनुभयो । व्यापार पेशामा संलग्न रहेको बताउने उहाँले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न सुझाव दिनुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ रजौराबाट झरनाको अवलोकनका लागि पुग्नुभएका २६ वर्षीय समीर भट्टराईले झरना संरक्षण तथा सम्वद्र्धन गरी भौतिक पूवर्धार निर्माण गर्न सके पश्चिम दाङको मुहार नै फेरिने बताउनुभयो ।
“झरना त धेरै लोभलाग्दो रहेछ तर यहाँ केही समस्या रहेछन्”, उहाँले भन्नुभयो, “छेउछाउमा वनभोज खाने स्थान छुट्याएर त्यसको केही व्यवस्थापन, झरनासम्म पुग्ने पक्कीबाटो, यहाँ आउने मानिसका लागि आवश्यक चमेना गृह, पर्यटकका लागि आवश्यकपर्ने शौचालय, पिउनेपानी तथा फोहरको उचित व्यवस्थापन हुनु जरुरी छ ।”
बबई गाउँपालिकाले झरनाको विकासका लागि गुरुयोजना बनाइसकेको छ । पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न विगतका वर्षमा गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको लगानीमा झरनासम्म पुग्ने बाटो गाभ्रेल, केही ठाउँमा कल्भर्ट निर्माण, झरनासम्म पुग्ने भ¥याङ तथा सिँढी निर्माणलगायतका विकास निर्माणका काम सम्पन्न गरेको सो गाउँपालिकाले जनाएको छ । बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले झरनाको विकासका लागि सङ्घीय सरकारले रु तीन करोड रकम विनियोजन गरेको भए तापनि प्राप्त नभएको बताउनुभयो । उहाँले उक्त रकम प्राप्त भएमा त्यसमा गाउँपालिकाले पनि थप रकम समावेशगरी त्यसको टेण्डर प्रक्रिया सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुलीबत्तीलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि जानकारी दिनुभयो । तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करिब आठ किमी दक्षिणपश्चिममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महिना पर्यटक सजिलैसँग सवारी चढेर जानसक्ने थिए । झरना एकान्तमा छ, वरपर कुनै बस्ती छैन । झरना क्षेत्रको वरपर भने घना जङ्गल छ र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईबस्तु लिएर जङ्गलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही नजिकै गोठ बनाएर बस्ने पनि गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए । झरनाबाट करिब एक सय मिटर दूरीमा सिद्देश्वर महादेवको मन्दिर छ । त्यस मन्दिरमा अहिले पनि नित्य पूजा हुन्छ र पुजारी त्यहीँ बस्नुहुन्छ । यस मन्दिरमा शिवरात्रिमा मेला पनि लाग्ने गर्दछ ।