ओम शर्मा चापागाईं, पर्वत, हाल काठमाडौं बनस्थली
वर्षौदेखि जनावरको शरीरमा रमाएको एक जीवाणु गएको वर्षदेखि मृतपिचास सरहका मनुवाका कारण आम मानिसमा प्रवेश गर्यो । तत्पश्चात हावाकै गतिमा संसारभरी फैलियो । त्यसपछि मानिसको शरीरमा स्थायी रुपले बसोबास गर्न यो जीवाणु संसारभर संघर्षरत रहेको छ ।
कोरोना नामक यस जीवाणुलाई स्थायी रुपमा पचाउन मानिसहरु पनि संघर्षरत छन् । जसरी हामी (मानव) बाँच्न संघर्ष छौं त्यसैगरी जीवाणु बाँच्न संघर्षरत रहनु स्वभाविक हो । यो सृष्टी उत्पत्ति भएदेखिको प्राकृतिक नियम हो । भविष्यमा कुनै न कुनै स्वरुपमा यो जीवाणुले मानिसभित्र बास गर्ने नै छ । यो निर्मुल हुनै सक्दैन । निर्मुल गर्ने भनेको यसले मानव शरीरमा नकारात्मक प्रभाव कम गर्नु हो । ओखतिमूलो जे जे भने पनि ति सवै शरीरमा यस जीवलाई पचाउन सहयोगी साधन मात्र हुन् ।
वर्तमानमा समग्र पृथ्वीकै भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । करीब एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव अरु सवैलाई कब्जामा लिई विश्वविजेता बन्न सफल भएको छ ।
पृथ्वीमा पहिलो एक कोषीय जीव ३ अर्ब ८० करोड बर्ष अघि पत्ता लागेको भनिन्छ । त्यसैगरी बहुकोषीय जीव २ अर्ब १० करोड वर्षअघि पत्ता लागेको हो । स्तनधारी प्राणी ६ करोड ३० लाख बर्ष अघि हो । मनुष्य जाति (एप्स) २ करोड वर्षअघि देखा परेका थिए । मानव जाति चिम्पाञ्जीसँग छुट्टिई भिन्न भएको नै ६० लाख वर्ष पुगिसकेको छ । आधुनिक अर्थात होमो जातका प्रजातिसँग मिल्ने प्राचीन मानव जातिहरु २० लाख वर्षअघि देखि नै यस पृथ्वीमा पाइन थालेको हो भन्ने भनाई वैज्ञानिकको छ । त्यति बेला देखि नै आफ्नो अस्तित्व जोगाउन मानव संघर्षरत थियो ।
झन्डै २ लाख वर्षअघि यस पृथ्वीमा देखा परेको आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्स्ले अघिल्लो एकलाख बर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरुकै हैसियतमा बितायो जस्तै जन्मने, बाँच्नको लागि कठीन भन्दा कठीन संघर्ष गर्ने अनि सन्तान उत्पादन गर्ने र मर्ने । भनिन्छ उतिबेला मानवलाई अहिलेको भन्दा कयौ गुना कठीन थियो बाँच्न ।
आज हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि जीवाणुको नाम सुन्दा झसङ्ग हुनुपर्ने अवस्था बाँकी रहेको छ । तर सबै जीवाणुहरु हानिकारक हुन्छन् भन्न चाहिँ सकिँदैन । यो प्राकृतिक नियम हो । सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने जीवाणु पत्ता लगाएका थिए । जुन त्यतिबेला पनि भयानक रोग मानिएको थियो । त्यसैले उनलाई जीवाणु विज्ञानका पिता पनि भनिन्छ । यहाँबाट जीवाणु पत्ता लगाउने क्रम जारी रहँदै जाँदा आज आएर जीवाणुहरु कति किसिमका छन् भनेर गन्न र भन्न पनि मुश्किल पर्ला जस्तो भईसकेको छ ।
विगतको अनुभवले जसरी क्षयरोगको जीवाणुलाई खोपले निस्कृय गरेता पनि हरेक मानवमा यसका जीवाणु कुनै न कुनै रुपले बसी रहेको अवस्था छ त्यसैगरी कोरोना जीवका लागि पनि क्षणिक निधान खोप मानिएता पनि यस्ले मानव शरीरलाई चटक्क छाडेर जानेवाला भने छैन ।
पुच्छरमा जिउनका लागि मानवले गर्दै आएको परापूर्वक कालदेखिको प्राकृतिक नियम सवैले बुझौ । प्राकृतिक नियम भनेको प्रकृतिसँग घुलमिल भईं बाँचु हो । तिनिहरुमाथिको अन्याय र अत्याचार गर्नु किमार्थ होइन । मानव आफू मात्र जिउने तर अन्य जीव, जन्तु र प्राकृतिक नियम अनि स्रोतको अस्तित्व माथि धावा बोल्दै जाने हो भने मानवलाई आईपर्ने कोरोना जस्ता भयानक र महारोगका लागि संघर्ष ब्यहोर्नुपर्ने नै हुन्छ । मानवले मानवताको असली कर्तब्य हेक्का राख जरुरी छ । प्रकृतिले निःशुल्क र सहज प्रदान गरेको अक्सिजन रक्षाका वारेमा हामी सवैले सोचेका छौं?? यसको रक्षाका लागि हामिले धेरथोर योगदान गरेका छौ की मासेका छौ? स्वमनन् गरौँ । सोही अनुसार सवैले व्यवहार गरौं । यसैमा हामी सवैको भविष्य गासिएको छ ।
कुनै न कुनै स्वरुपमा ढिलो चाँडो यस जीवाणुलाई हरेक मानवले ग्रहण गर्नुको विकल्प छैन । भरखरै मात्र मानव शरीरमा प्रवेशगरी संघर्षरत रहँदा यसको उग्ररुप हुनु स्वभाविक हो । उग्ररुपको वर्तमान अवस्थामा संयम् भएर भरसक जोगिनु (कम प्रभावमा पर्नु) उत्तम उपाय हो । मानिसमा घुलमिल भएर नरम भएपछि स्वतः यसको स्वरुप पनि उग्र अर्थात् आक्रमक खालको रहने छैन ।
(लेखक ब्राह्मण समाज नेपालका, केन्द्रीय महासचिव तथा नेपाली काँग्रेस पर्वत काठमाडौं सम्पर्क समितिका अध्यक्ष)