काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन निर्वाचन- २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।
लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले मंगलबार दिएकाे जानकारी अनुसार उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन- २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए । उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए ।
उनले भने, ‘आज राजकुमार पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनका उम्मेदवार रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहने हुँदा उहाँले त्यो नागरिकता त्याग्नुभएको छैन । उहाँको उम्मेदवारी खारेज गरीपाउँ भनेर उजुरी प्राप्त भएकोमा हामीले कानूनी व्यवस्थाअनुसार उक्त उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेका छौँ । त्यसपछि उहाँले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा आइसकेपछि थप प्रक्रिया अघि बढ्छ ।’
त्यस्तै, उनले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए । निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा २ वटा फर्स्यौट भइसकेको आयोगले जनाएको छ ।
ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की, प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ ।