काठमाडौँ । कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विकट क्षेत्रलाई जोड्दै चीनको सीमा नाकासम्मको महाकाली करिडोरको ट्रयाक खोल्ने कार्य अझै सम्पन्न हुन सकेको छैन् ।
विसं २०६५/६६ सालदेखि निर्माण सुरू भएको दार्चुला तिङ्कर सडकलाई २०७४ सालमा गाभेर महाकाली करिडोर नामाकरण गरिएको सो करिडोरको ट्रयाक खोल्ने कार्य विभिन्न कारणले तीब्र गतिमा जान नसकेको हो ।
कुल ४१३ किलोमिटर लम्बाइ रहेको सो करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको छ । महाकालीको किनारै किनार हुँदै जाने यस करिडोले दार्चुला, बैतडी, डडेलधुराका मानिसलाई सहजपूर्ण यात्रा गर्न तथा अन्य विकासका कार्यः रोजगारीको सिर्जना, व्यापार–व्यवसाय र पर्यटन उधोगका लागि पनि सो सडक उत्तिकै महत्वपूर्ण मानिन्छ ।
तर, काम जुन गतिमा हो सोही गतिमा हुन नसक्दा पूर्व योजना भन्दापनि धेरैँ समय लाग्न सक्ने आँकलन गर्न सकिन्छ ।
यसै सन्दर्भमा सो महाकाली करिडोरका योजना प्रमुख आशुतोष कर्णसँग समाजिक सञ्चारले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
आयोजनाको काम कस्तो चलिरहेको छ?
कुल ४१३ किलोमिटर लम्बाई रहेको यस करिडोरमा ३३४ किलोमिटर सडक विभागले लिएको छ । जसको जिम्मेवारी मलाई दिइएको छ । भने ७८ किलोमिटरको जिम्मा नेपाली सेनाले लिएको छ । मैलै विगत नौ महिनादेखि यसको जिम्मा लिएको छु ।
मैले जिम्मा लिएको दिनदेखि नै मेरो जिम्मेवारीतालाई पूरा गर्न निकै क्रियाशीलताका साथ लागेको छु । सुरूका दिनमा यसबारे बुझ्न केही समय पनि लाग्यो तर सम्बन्धित निकायसँग समन्वयमा कामलाई निरन्तर रुपमा लगिरहेका छौँ ।
बजेट कति थियो? र कति खर्च भयो?
सरकारले सय वर्ष करिडोरका लागि ७९ करोड ४२ लाख बजेट छुट्याएको हो । नेपाली सेनाको लागि छुट्ट्याइएको सहित गरेर १ अर्व तीन करोड बजेट छुट्ट्याएको हो ।
हालसम्म २१ करोड जति बजेट खर्च भएको छ । यसमा ६५ देखि ७० करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।
कहिलेसम्म सकिन्छ यसको काम?
गौरबका आयोजनामा भन्दा यसमा सरकारले कम प्राथमिकता दिएको हामीले बोध गरेका छौँ । यसको लागि सरकारले बजेट समयमा दिन सकेको छैन् ।
यसपालिको बजेट भल्युम राम्रो छ । यदि सरकारले चासो दिएर यसैगरी बजेटको भल्युम बढायो भने काम ७ देखि ८ वर्षमा नै सकिन्छ ।
जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा कार्य सम्पन्न हुन नसक्नुको कारण ?
स्थानीयबाट काम तीब्र गतिमा भएन भन्ने गुनासो सधै हुन्छ । तर के कारणले गर्दा समयमै सम्पन्न हुन सकेन भन्ने कुराको बारेमा कसैले पनि शुक्ष्म अध्ययन गर्नुभएन या चासो नै राख्नु भएन ।
कुनैपनि काम गर्दा विभिन्न फ्याक्टर त्यसँग सम्बन्धित हुन्छन् । यसमा पनि ती विभिन्न कुराको प्रभाव छ । जसले गर्दा हामीले चाहेर पनि समयमै कार्य सम्पन्न गरेर आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएका छौँ ।
भौगोलिक विविधता
कतिपय स्थानमा सडक नै छैन् । भएको ठाउँमा पनि अवस्था राम्रो छैन । यसको कारणले गर्दा हामीले आवश्यकताको बेला आवश्यक सामाग्री र तेल ढुवानीमा समस्या भोगेका हुन्छौँ । यसकाण पनि काम प्रभावित हुन्छ ।
रुख कटानमा समस्या
सडक निर्माणका लागि सडक, त्यसलाई प्रभाव पर्ने क्षेत्रका रुखहरू कटान गर्नेपर्ने हुन्छ । तर, हामीले रुख कटानी गर्नको लागि अनुमति पाउन निकै कठिन हुन्छ । कहिले रुखको संख्या नमिलेको भनेर अनुमति पाइँदैन, कहिले चिठ्ठीमा केके मिलेको हुँदैन । अनुमति पाएपनि स्थानीयको अवरोध सुरू हुन्छ जसको कारणले समय, जनशक्ति तथा बजेटमा पनि ठूलो असर पारेको हुन्छ । यसै त दुर्र्गम ठाउमा सबैकुरा म्यानेज गर्न कठिन छ । त्यसमाथि हामीले कटना गर्नुपर्ने विरुवा समयमै कटान गर्न नपाउँदा प्लान अनुसार काम सम्पन्न गर्न सकिँदैन ।
प्रविधिक जनशक्ति र यसको कार्यअवधि
ठूलो प्रोजेक्ट भएको कारण यसको लागि त्यही अनुसारको योजना र कार्य जनशक्तिको आवश्यता पर्दछ । तर, हाम्रोमा एउटा जनशक्तिको कार्य अवधि दुई वर्षकै आसपासमा हुन्छ । नयाँ काममा ६ देखि सात महिना त यसको कार्य पक्रिया र समस्या बुझ्दै मान्छे अल्झिन्छ । अनि काम कहिले सक्ने ? यसरी जनशक्तिलाई कम्तिमा तीन चार वर्षका अवधि दिन सक्यो भने उसले आफ्नो योजनाका साथ निरन्तर काम गर्ने वातावरण सिर्जना हुन्छ । तर यसो हुँदैन नयाँ जनशक्ति आउँछ र उसले उस्तै कठिनाइका साथ जिम्मेजारीता ग्रहण गर्दछ ।
पुलको विषयमा चासो नहुनु
खासमा करिडोरको डिजाइन र कार्य थालनी गरिरहँदा पुलको बारेमा कसैले चासो नै देखाउको छैन् । ४१३ किलोमिटरको सडकमा कम्तिमा ३० वटा जति पुलको आवश्यकता पर्दछ । तर यसको बारेमा कसैले पनि चासो लिनुभएको छैन । यसको कारणले हामीले सडकको काम पूरा गरेपनि पुलकै कारणले रोकिने अवस्था आउन सक्ने हुन्छ । मैले आफ्नै दौडधुपमा ६ पुलको सर्वेक्षण गराइ यसलाई पास गराउन लागेको छु बाँकीको लागि पनि क्रियाशील छु ।
काम छिटो गर्न के गर्नुपर्ला के छ सल्लाह?
हामीलाई काम गर्न अवरोध गर्नु भएन । सर्वप्रथम त रुख कटानी गर्न दिनुपर्यो यसकारले आवश्यक बजेटको समयमै प्रवन्ध गरिदिनुपर्यो । त्यस क्षेत्रका सांसद्, जनप्रतिनिधि तथा राजनीतिक व्यक्तित्वले चासोका साथ हामीलाई साथ दिनुपर्यो ।