काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार २७२ मतले अघि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।
यसैगरी, प्रमुखका प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहेका छन् ।
यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ।
गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याएकी छन् ।
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
त्यसमा नेपाली कांग्रेसले १४ वडामा जीत हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ ।
नेकपा एमालेले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराका वडा नं १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ ।