काठमाडौँ । नायिका प्रियंका कार्कीले बलात्कारको आरोपित नायक पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीलाई इङ्गित गर्देै आफ्नो धारणा राखेकी छन् ।
उनले हाम्रो समाजको चरित्र चित्रण गर्दै सो घटना प्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
उनी लेख्छिन्,' दु:खको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु ।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको 'निर्णय लिन सक्ने क्षमता'लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो ।'
केही दिन यता पल र समीक्षाको विषयलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्ने महिला कलाकारको लर्को लागेको छ । यसअघि नायिका रेखा थापा, लक्ष्मी बर्देवा, ऋचा शर्मालगायतले आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
यसका साथै मिस नेपाल श्रीङ्खला खतिवडाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनको धारणामा भने आरोपित नायक पल शाहको नाम नै मेन्सन गरेको विषयमा केही मिडियाकर्मी तथा कलाकारले आलोचना समेत गरेका छन् ।