साेझाे मान्छे,
बाङ्गाे मान्छे,
चलाख मान्छे ,
ठाडो मान्छे ,
चतुर मान्छे ,
कुटिल मान्छे,
इमान्दार मान्छे,
मूर्ख मान्छे ,
विवेकी मान्छे,,,,,,.........
मान्छे खोइ । कहाँ छ मान्छे । मान्छे कतै भेटिँदैन । राम्रो मान्छे । नराम्रो मान्छे,। खराब मान्छे । वेइमान मान्छे ।मान्छे खोज्दै जाँदा मान्छे नै भेटिँदैन विभिन्न नाम ,उपनाम ,सर्वनाम,। राम, श्याम ,हरि, विष्णु,....... कति नाम । सज्जन ,चोर, फटाहा ,डाका, ठग मान्छे।मान्छेलाई चिन्नु भन्दा अगाडी मान्छेहरूका थुप्रै परिचय । मान्छे खोज्नु पर्दैन। अगाडि ठिङ्ग उभिन्छ।र, भन्छ म सज्जन मान्छे। खोज्दै जाँदा फेरी परिचय हराउँछ।
पुरुष मान्छे। आइमाई मान्छे ।धनी मान्छे। गरीब मान्छे । पढेको मान्छे। नपढेको मान्छे। समाजले मान्छेलाई फरक-फरक चिनायो। गीता, कुरान, वइवलहरुले मान्छे चिनाउने कोसिस गरे। ज्ञानी, अज्ञानी, माहात्मा,गुरु चिनाए। मान्छे झन् फरक भयो। मान्छेले मान्छेलाई चिनेन। हिन्दु, मुस्लिम ,बुद्ध ,इसाई भयो मान्छे । मान्छे भएन।
हेगेल,एरिस्टाेटल, सुकरात,रुसो, कान्टले मान्छे चिनाए। मान्छे बन्न सिकाए। तर मान्छे डाक्टर,वैज्ञानिक, दार्शनिक, राजनीतिज्ञ बन्यो। झनझन मान्छे फरक भयो। मान्छे बीचमा खाडल बढ्यो । कसैले गरिब देखे। कसैले धनी मान्छे देखे ।कोही शस्त्र अस्त्र युक्त बने। कोही निरिह बने। मान्छेले फरक-फरक मान्छे चिनायो। प्रथम विश्व युद्ध भयो। दोस्रो विश्व युद्ध भयो ।धेरै मान्छे मरे। कोही मान्छे शासक बने ।हिटलर जन्मे। इदिअमिन जन्मे।मान्छेले मान्छे मारे। खै मान्छे।
बाटोको छेउमा बसेको मान्छेलाई मान्छेले चिन्दैन । दुखेको मान्छे, रोएको मान्छे, उठेको मान्छे, निहुरेकाे मान्छे हराउँछ भिडमा, सडकको छेउमा।छेउबाट मान्छे हिड्छ,मान्छेलाई चिन्दैन र आँफै गाौरब गर्छ मान्छे। आफ्नै स्वार्थमा आफूलाई बेच्छ मान्छे। बा ,आमा चिन्दैन परिवार चिन्दैन। जब नातागोता नजिक हुन्छन्, टाढा पुगिसकेको हुन्छ मान्छे।
मान्छे बिक्री हुन्छ ।खरिद हुन्छ। आफै बजार बन्छ । स्वाभिमान दाउमा राख्छ ।बाहिर सुकिलो देखिन्छ। धरहराजस्तै।अग्लो देखिन्छ। पहाड जस्तै। तर खोज्दै जाँदा फुच्चे भेटिन्छ मान्छे। आफ्नैलागि महान, अरुको आँखामा तुच्छ देखिन्छ मान्छे। मूल्यांकन हुन खोज्छ, जब मूल्याङ्कन हुँदैन घमण्डी बन्छ मान्छे।
एशिया,अमेरिका, अफ्रिका, युरोपका मान्छेहरु। गोरा काला, सेताा, अग्ला, होचा मान्छेहरु। कोही हेर्दै चिटिक्क ,हस्त पुष्ट, काेइ,खपटे, सिकुटे, खान नपाएका मान्छेहरु। तर सबैको हासो, खुशी, बेदना, रोदन , माया, प्रेम, एउटै। मान्छे कति फरक फरक छ। आफूले आफैंलाई खोज्दैन मान्छे। अरुलाई देख्छ र भन्छ म भन्दा फरक मान्छे ।सुखदुःख आसु हासो फरक देख्छ ।मान्छे खोइ ।मान्छे कतै भेटिँदैन। हराएको मान्छे।
धन कमाउँछन्, मन थाहा पाउँदैन। खाना खान्छन स्वाद थाहा पाउँदैन। गीता पढ्छन ज्ञान थाहा पाउँदैनन्। मन्दिर मस्जिद ,जान्छन प्रेम थाहा पाउँदैनन। बाटोमा हिँडिरहन्छन प्रकृतिको आवाज बुझ्दैनन। चराको गान सुन्दैन। भन्छ म मान्छे हुँ ।अरुभन्दा फरक छ मान्छे। रोबोट जस्तै निर्देशित छ मान्छे ।थाहा पाउँदैन वरिपरि उ जस्तै मान्छे छन। एकोहोरो आफ्नै धुनमा, आफ्नै मस्तिमा हिडिरहेको छ मान्छे।
मान्छेलाई किन मान्छे भनियो ।पशुलाई किन भान्छे भनिएन। पशु पनि मान्छे जस्तै रुन्छ, कराउँछ ,भाेकाउंछ ,छोराछोरीलाई माया गर्छ, तर किन पशु मान्छे भएन ।मान्छेले पशु भित्र मान्छेलाई खोजेन र सधै भरि भनेरर्यो म मान्छे हुँ पसु होइन। तर पसु जतिको पनि भएन। पशुले पाप गर्दैन। धर्म छोड्दैन । आफ्नो, अर्को देख्दैन। माेह गर्दैन ।इर्ष्या गर्दैन तर मान्छे भन्छ म पशु भन्दा फरक छु। मान्छे, जन्म जन्मान्तर सम्म मान्छे हुन सक्दैन जबसम्म पशु प्राणी र प्रकृतिलाई चिन्दैन ।
कविता, कथा, उपन्यास, निबन्ध, दर्शन लेख्छ मान्छे । कति मान्छेहरु भेटिन्छन् ।मान्छेले परिभाषा गर्न खाेज्छ आफुलाई। व्यक्त गर्न खोज्छ। खाली गर्न चाहन्छ। रित्तिन चाहन्छ । तर जब मान्छेले शब्दहरु मात्र पढ्र्छन् ।मान्छे भेट्दैनन।फरक-फरक मान्छे देक्छन्। जब भेटिन्छन् , सुकिला, अग्ला, फरासिला, रमाइला, प्रेमी भेटिन्छन्। जब देशले मान्छे भेट्छ त्यसपछि भन्छ ऊ त्यो मान्छे ।पृथ्वीनाराण शाह ,भीमसेन थापा,बिपी, गणेशमान, मनमोहन ती मान्छेहरु। जसले परिचय दिनु पर्दैन ।आफुलाई चिनाउनु पर्दैन। इतिहास लेखाउनु पर्दैन। आफै भेटिन्छन् मान्छेहरु। आइन्स्टाइन नयूटन,भोल्तेयर बुझ्नु पर्दैन। घरको कोठा कोठामा भेटिन्छन्। पोष्टरहरु्मा भेटिन्छन्। कहिल्यै मर्दैनन् मान्छेहरु। जब मान्छे जन्मिन्छ। देश,समाज बदलिन्छ। परिश्रम, इमान्दारिता, प्रेम,सद्भाव, सम्बन्धले मान्छे जन्माउछ। मान्छेलाई फरक पार्दैन। तर जब मान्छेको अगाडि नाम, उपनाम, सर्वनाम, विशेषण जोडिन्छ। त्यसपछि मान्छे हराउँछ। मान्छे ,मान्छे बन्न सक्तैन।
मान्छे खोज्न टाढा जानु पर्दैन। छेउको मान्छेसँग कुरा गर ।ऊसँग भलाकुसारी गर। उ भित्रको मान्छे सँग कुरा गर। मान्छे चिन्नलाई अरुलाई चिन्नु पर्दैन ।आफूभित्रको मान्छेलाई चिन ।दया ,माया, प्रेम, गर। संसारका मान्छे फरक छैनन्। एउटै छन् ।आफूभित्रको मान्छेलाई परिवर्तन गर। र भन सबै मान्छे बराबर छन् ।मजस्तै खुशी छन् ।म जस्तै रमाउँछन् रुन्छन् पीडा व्यक्त गर्छन्। साेच ! मान्छेहरु मान्छेलाई दया गर्न जन्मिन्छन् ।सबै फरक पन छोडेर छेउकै मान्छेलाइ हेर। झसङ्ग हुन्छौ। अनि भन्छौ।
ऊ मान्छे। मात्र मान्छे।