नेपाल राष्ट्र बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस)को औपचारिक शुभारम्भ गरेको छ ।
फागुन १३ गते नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर त्यसको औपचारिक शुभारम्भ गरे ।
चलनचल्तीका लागि अयोग्य भएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा ‘बीएसबीएस’ मेसिनको प्रयोगमार्पmत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा ‘बीएसबीस’को सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए ।
‘बीएसबीएस’ मार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उनले जानकारी दिए । बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको बताए ।
‘बीएसबीएस’ मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुईवटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउँछ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।
उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिने र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो टुक्राको औसत आकार ६x६ मि.मि. हुनेछ ।
यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘बीएसबीएस’ मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ ।
यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिएको राष्ट्र बैंकले जनाएको छ ।
थापाथलीस्थित राष्ट्र बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने जनाएको छ । यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । ‘बीएसबीएस’ मार्पmत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्नेगरी नोट धुल्याउने सम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाएको राष्ट्र बैंकले जनाएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिलेसमेत उपयोगी हुने राष्ट्र बैंकले बताएको छ ।