म्याग्दी, २३ माघ (सामाजिक सञ्चार): म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ ।
यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु. एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिनुभयो ।
“महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,” उहाँले भन्नुभयो “बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।”
घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पु¥याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको रु आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको रु २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन÷तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।
घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताउनुभयो । “जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,” उहाँले भन्नुभयो “करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।”
गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो ।