नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी पर्यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ ।
बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले भने, ‘जरुरी पर्यो भने आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ। झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा रक्षा गरिन्छ । फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस् ।’
लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति हुने उहाँले बताउनुभएको छ । संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिमलगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने उहाँको आशंका रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठुलो षड्यन्त्र भएको छ । सो साँचो कुरा हो ।’ यसरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको उहाँको आरोप छ ।