काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेर उक्त प्रतिवेदन लेखेको बताएका हुन् ।
‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि तयार मर्न पनि तयार प्रहार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने ।
उनले आफूले ओली प्रवृत्तिविरुद्ध युद्धमा जाने भनेर हिंसाको कुरा नगरेको बताए । उनले अबको युद्ध शान्तिपूर्ण हुने भन्दै अहिले पनि युद्ध चलिररहेको बताए । उनले संसद विघटनविरुद्ध अभियान चलाएर आफूहरुले ब्यटल जिते पनि युद्ध जित्न बाँकी नै रहेको बताए ।
‘हामीले संसद् विघटनका विरुद्धको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं तर हामीले वार चाहिँ जितेका छैनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् ।
तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।’ उनले सबै सजक भएर आफ्नै खुट्टामा उभिएर अगाडि बढ्नुपर्ने बताए ।