राजनीति र समाज एकअर्कासँग गहिरो सम्बन्ध राख्ने एउटै सिक्काका दुई पाटा जस्तै हुन् । यी दुई तत्त्वको सम्बन्धलाई बुझ्न हामीले समाजले कसरी राजनीति निर्माण गर्छ र राजनीतिले समाजलाई कसरी निर्देशित गर्छ भन्ने पक्षलाई गहन तरिकाले विश्लेषण गर्न जरुरी छ । जुनसुकै देशको राजनीतिमा पनि त्यहाँको समाजको संरचना, संस्कार र मूल्यहरूले प्रभावित पार्ने गर्छ र समाजको स्वरूपलाई राजनीतिक निर्णयहरूले निर्देशित गरेका हुन्छन् । देशको सामाजिक अवस्था, जनताको जीवनशैली, सांस्कृतिक विशेषताले त्यहाँको राजनीति निर्माण गर्छ भने राजनीतिले समाजको विकास, सुधार र व्यवस्थापनको प्रमुख माध्यमको रुपमा काम गरेको हुन्छ ।
राजनीतिलाई समाजको ऐनाको रूपमा लिन सकिन्छ । जसले समाजको वास्तविकतालाई प्रतिबिम्बित गर्दछ । हरेक समाजमा रहेका वर्ग, जात, धर्म, भाषा र क्षेत्रगत विविधताले राजनीतिको निर्माणमा प्रभाव पारेका हुन्छन् । जसको बलियो उदाहरणको रुपमा हाम्रो देश नेपाललाई लिन सकिन्छ । नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुभाषिक देशमा संघीय संरचनात्मक राजनीतिक प्रणाली अपनाउनु नेपाली समाजको विविधतालाई सम्बोधन गर्ने प्रयासको रुपमा लिन सकिन्छ ।
राजनीतिले समाजमा भएका समस्या समाधान गर्ने र भविष्यको दिशा निर्देश गर्ने गर्छ । जसका लागि नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरु जस्तै २०४६ सालको आन्दोलन, प्रजातन्त्र पुनर्स्थापना र २०६२ /६३ को लोकतान्त्रिक आन्दोलन उदाहरणको रूपमा लिन सकिन्छ । यी आन्दोलनहरू समाजका जन आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले भएका थिए । राजनीतिको प्रमुख भूमिका भनेको समाजका आधारभूत आवश्यकता जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी र मानव अधिकारको सुनिश्चितता गर्नु हो । यसो भनिरहँदा राजनीति केवल समाजको समस्याको समाधानका लागि मात्र होइन यसले समाजको दिशा र उद्देश्य निर्धारण गर्नमा पनि भूमिका खेलेको हुन्छ ।
राजनीतिमा समाजलाई प्रेरणाको स्रोतको रूपमा लिन सकिन्छ । राजनीतिको विकास र मार्ग निर्देशन गर्ने समाजले नै हो । समाजमा हुने गरेका आन्दोलनहरू, जन आवाज र विविधताले विभिन्न विषयलाई राजनैतिक मुद्दाको रुपमा समेट्न मद्दत गर्दछन् । नेपालको सन्दर्भमा महिला सशक्तिकरण, दलित अधिकार, जनजातीय समानता साथै लैङ्गिक समानताका मुद्दाहरू सामाजिक आन्दोलनबाट नै राजनीतिको प्राथमिकतामा परेका हुन् । समाजको समस्या र अवसरलाई सम्बोधन गर्न विभिन्न राजनैतिक दलहरुले आफ्नो एजेन्डाको रुपमा माथि उल्लेखित मुद्दाहरुलाई
समावेश गरेका हुन्छन् ।
राजनीति र समाजले एकआपसमा दुईतर्फी सम्बन्ध राखेका हुन्छन् । राजनीतिले समाजलाई सुधार गर्दै विकास गर्ने र स्थायित्वको बाटो देखाउने काम गर्छभने समाजले राजनीतिलाई सक्रिय, जवाफदेही र प्रगतिशील बनाउन दबाब दिइरहेको हुन्छ । राजनीतिक निर्णयले समाजका विविध पक्षलाई छुने गर्दछ । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालको संविधान २०७२ ले सबै जाति, वर्ग र क्षेत्रका मानिसहरूको समानता र अधिकार सुनिश्चित गर्ने उद्देश्य राखेको छ । जसले गर्दा महिलाहरु, जनजाति र दलितहरूलाई राजनीतिक प्रतिनिधित्वमा देख्न सकिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारी सेवामा समावेशी नीति लागू गरेको छ । साथै बालविवाहको अन्त्य, महिला हिंसाको न्यूनीकरण र समान तलबको प्रावधान जस्ता कानुनी निर्णयले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ ।
समाजको पनि राजनीतिमा विभिन्न माध्यमबाट प्रभाव रहन्छ जस्तै हाम्रो नेपाली समाजको सन्दर्भलाई जोड्ने हो भने २०६२ /६३ को आन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । शिक्षा र प्रविधिको विकासले समाजमा सचेतना ल्याएका छन् जसले गर्दा राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउन भूमिका खेलेको छ । हाम्रो समाजमा देखिने विभिन्न सामाजिक विषयवस्तुहरू जातीय विभेद, महिला हिंसा, बालश्रम जस्ता मुद्दाहरू समाजबाट उठेका हुन् । यिनीहरूले राजनीति पुननिर्माणमा भुमिका निर्बाह गरिरहेका छन् ।
राजनीति र समाजको सम्बन्धको कुरा गर्दा केही चुनौती र अवसरहरू पनि छन् । समाजमा देखिएका असमानता, विभेद र अन्यायले राजनीतिमा अस्थिरता ल्याउने साथै राजनीतिमा भ्रष्टाचार र शक्ति दुरुपयोगले समाजलाई विखण्डित गर्न सक्ने चुनौती छ भने राजनीति उत्तरदायी र समावेशी भएमा समाजलाई विकसित र प्रगतितर्फ डोर्याउन सक्ने अवसर पनि छ । राजनीति र समाज बीचको सम्बन्ध एक आपसमा आश्रित छन् । एकातिर समाजको संरचना र आवश्यकताले राजनीति निर्माण गर्छ भने अर्कोतिर राजनीतिले समाजलाई निर्देशित गर्छ । समाज र राजनीतिको सम्बन्धलाई सन्तुलित र न्यायपूर्ण बनाउन राजनीतिक नेतृत्वको इमान्दारीता र समाजको सचेतना दुवै अपरिहार्य आवश्यकता हुन् । जसलाई समाजमा बस्ने हामी आम मानिसले बुझ्न जरुरी छ ।
लेखक (कमला बराल )महालक्ष्मी रातामकै चोक स्थित अक्षता किन्डर वर्ल्ड स्कुलको प्रिन्सिपल तथा निम्स कलेज ललितपुरमा समाजशास्त्र
अध्यापन गराउनु हुन्छ । साथै समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयको पिएचडी अध्ययनरत हुनुहुन्छ ।