रामेछाप: रामेछापको सुनापति गाउँपालिकामा पर्यटक लोभ्याउन ‘डम्फु पार्क’ निर्माणका साथै विकास हुँदै गएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनापति गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘डम्फु पार्क’ निर्माण गरिएको हो ।
सुनापति गाउँपालिकाले रु २१ लाख बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाका अयक्ष्य ठूलो कान्छा तामाङले बताउनुभयो ।
सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पछिल्लो समय डम्फु पार्कमा पुग्नेहरू तस्बिर खिचेर रमाउने र टिकटक बनाउन व्यस्त हुने गरेका छन् ।
लुभ–बेथान– हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना त्यसैगरी पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् ।
रामेछापको पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कंर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दो छ ।
रामेछाप जिल्लामा सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानीको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो ।
समुन्द्री सतहदेखि करीव ६०० देखि २३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछन ।