काठमाडौँ । विज्ञान विषयमा केन्द्रित रहेर सम्सारा सोसियल (samsara.social) अनलाइन पत्रिका संचालनमा अाएकाे छ ।
खासगरी विज्ञान विषयमा रूचि भएका विद्यार्थीहरुलाई र पाठकहरुलाई केन्द्रित रही उक्त पत्रिका नेपाली र अंग्रेजी दुवै भाषामा संचालनमा ल्याइएकाे हाे ।
नेपालमा बन विज्ञानमा स्नातकसम्मको अध्ययन पश्चात सन् २०११ मा उच्च शिक्षाको लागि अमेरिका गएका विश्व किरण गिरीले उक्त पत्रिका सञ्चालनमा ल्याएका हुन । उनले संयुक्त राज्य अमेरिकाको द युर्निर्भसिटी अफ नर्थ क्याराेलिना एट ग्रीन्सबोरोबाट जीवविज्ञानमा विद्यावारधी गरेका छन । आफ्नो अध्ययनको क्रममा उनले जीव विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै आइएकाे उन्नत विषय "लाइफ हिस्ट्रि इभाेलुसन" अर्थात् "जीवन इतिहास विकास" मा अध्यन तथा अनुसन्धान गरे । इभोलुसन विषयमा गरेको अध्ययन र योगदानको कारण गिरी सोसाइटी फर स्टडी अफ इभोलुसन (एस.एस.ई) अमेरिकाको सदस्य समेत रहेका छन् ।
उनको अनुसन्धान विकासवादी मोडेल जीव (Arabidopsis lyrata) प्रयोग गरी "जीवन इतिहास दुविधा" (Life History Tradeoff) को आनुवंशिक आधार पहिचान गर्नमा केन्द्रित थियो। अध्ययनको क्रममा डा. गिरीले जीवविज्ञान अनुसन्धानमा प्रयोग गरिने आधुनिक र क्रान्तिकारी प्रविधिहरू, जस्तै - जीनोमिक्स, ट्रान्सक्रिप्टोमिक्स र बायोइनफॉरमैटिक्स प्रयोग गर्ने अवसर प्राप्त गरे। अध्ययनका क्रममा नवीनतम अनुसन्धान विधिहरू र उपकरणहरू प्रयोग गर्दै गर्दा, उनले महसुस गरे कि, कुनै पनि विषयलाई व्यापक रूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक छ ।
उनले नेपाल जस्तो देशमा विज्ञान शिक्षाको प्रवर्धनलाई सीमित पार्ने मुख्य कारकहरू मध्ये एक नेपाली भाषामा विज्ञानका विषयवस्तुको सीमित उपलब्धता हो भन्ने बुझे। वास्तवमा, नेपालीभाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञान पत्रिका उपलब्ध छैन । मातृभाषामा विज्ञान र प्रविधिको बारेमा ज्ञान प्रदान गर्ने सामग्रीको उपलब्धता हुँदा देशको फराकिलो श्रोतासम्म विज्ञान प्रति को आकर्षण बढाउन मद्दत गर्दछ । थप रूपमा, मातृभाषामा विषयको सटीक विचार र जानकारी प्रस्ट हुन्छ । त्यसैले विज्ञानलाई केन्द्रमा राखेर संसार सामाजिक (samsara.social) अनलाइन पत्रिका नेपाली भाषामा सञ्चालनमा आएको उनले बताए ।
गिरिका अनुसार, नेपालमा एउटा धारणा छ कि बोर्डिङ स्कुलमा अङ्ग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्य रहेनछ। कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न, र छलफल गर्न अवसर पाएनौं भने, हाम्रो त्यो विषयको बारेमा रहेको ज्ञानमा धेरै त्रुटिहरू उत्पन्न हुने रहेछन् भन्ने कुरा डा. गिरीले महसुस गरे। डा. गिरी जीनोमिक्स, बायोइन्फर्मेटिक्स, र नेक्स्ट जेनेरेशन सिक्वेन्सिङ डाटा जस्ता उदीयमान क्षेत्रहरूबाट उपलब्ध गराइएका नयाँ-युग प्रविधिहरू र उपकरणहरू प्रयोग गर्ने अवसर पाउँदा आफूलाई भाग्यमानी ठान्छन्।
पढाइको क्रममा यसलाई बुझ्न र प्रयोग गर्न धेरै चुनौतीहरू आएको उनी बताउँछन्। उक्त अध्ययनका क्रममा उनले नेपालमा विज्ञान शिक्षाको जग मजबुत गराउने आधारहरु स्थापित गर्नुपर्ने आबश्यक रहेको महसुस गरे । उनले अङ्ग्रेजीमा जटिल अवधारणा बुझ्न धेरै काम गर्नुपर्ने र नेपालको ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा सामग्रीको पहुँच नभएकालाई विज्ञानको सामग्री र त्यसले प्रस्तुत गरेका तथ्यहरू बुझ्नमा बढी समस्या हुने गरेको उनले बताए ।
उनी स्वयँम बोर्डिङ स्कुलकै विद्यार्थी रहेका थिए तर उनी जब अमेरिकामा पढ्न थाले, त्यसपछि उनलाई अनुभूति भयो नेपालमा पढाइने विज्ञान विषयको आधारभूत ज्ञान कमजोर रहेछ । त्यसैले उनले विज्ञान विषयमा सम्बन्धित रहेर लेख लेख्ने र त्यसलाई विद्यार्थीहरुसम्म पुराउने परिकल्पना गरे । त्यही परिकल्पना अनुसार सुरुमा आफ्नो विषय अन्तर्गतको शैक्षिक ब्लग लेख्न थाले । त्यसपछि धेरै पाठकसम्म पुग्न अलि भरपर्दो साधन तयार गर्न सम्सारा सोसियल (Samsara Social) भन्ने अनलाइन पत्रिकाको अवधारणा तयार गरे। त्यसो त उनी आइ.टी विषयका जानकार समेत रहेका छन् । वेबसाइटको प्रारम्भिक डिजाइन र एप समेत स्वयँमले नै बनाए ।
सन् २०२० बाट उनले सम्सारा सोसियल (samsara.social) वेबसाइट बनाएर काम गर्न थाले । नेपालमा समेत कर्मचारी राखेर ८ जनाको पूर्णकालिन टीममा काम भैरहको उनले जानकारी गराए । विज्ञान विषयमा केन्द्रित रहेपनि साहित्य र कलालाइ समेत स्थान दिने गरेको गिरिले बताए । मूलतः अंग्रेजीमा लेख्ने गरेपनि ती सामाग्रीलाइ नेपालीमा पनि प्रकाशित गर्दै आएको उनले बताए । ती सामाग्रीलाइ नेपाली र अंग्रेजीमा अडियो सामग्री बनाउने र ती सामग्रीलाई पुनः भिडियो सामग्री बनाएर पस्किने गरेका छन् । अहिलेसम्म उक्त अनलाइन पत्रिका पढ्ने पाठकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ । सकारात्मक प्रतिक्रियाले गर्दा निरन्तरता दिन आफू थप उत्साहित रहेको गिरीले बताए ।
विज्ञानका विभिन्न विषयमा सतहभन्दा भित्र पुगेर अध्ययन सामग्री तयार गर्ने र कतिपय अनलाइनबाट पनि साभार गरेर ती सामग्रीलाई नेपालीमा अनुवाद गरी अडियो सामग्री सहित पस्किने गरेका छन । गिरिका अनुसार उक्त अनलाइन पत्रिकालाई आफैले मात्र अहिलेसम्म व्यहोर्दै आएको भएपनि निकट भविष्यमा सामूहिक लगानी गरेर निरन्तरता दिने बारेमा छलफल भइरहेको बताए ।
सम्सारा सोसियल (samsara.social) यो लिंकबाट प्राप्त गर्न सकिन्छ- https://samsara.social/ । यो विषयमा थप जानकारीको लागि [email protected] मा सम्पर्क गर्न सकिन्छ ।