एजेन्सी । उत्तरी भारतको हिमालय क्षेत्रमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
भारतको उत्तराखण्ड राज्यको विपद् व्यवस्थापन निकायले वर्षाका कारण हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल मार्गमा शनिबार राति ‘ठूलो पहिरो’ खसेको र केही व्यक्तिको हताहती भएको जनाएको छ ।
विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह रजवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिरोमा परी पुरिएकाहरूको खोजी तथा उद्धारका क्रममा अहिलेसम्म तीन जनाको शव फेला परेको छ ।”
उहाँले भन्नुभयो, “हराइरहेका भनिएका बाँकी १६ व्यक्तिको खोजीका लागि उद्धार कार्य जारी छ ।”
सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यमहरूमा देखाइएका तस्विरमा पसलको भग्नावशेष भिरालो पहाडमा छरिएर तल नदीसम्म पुगेको देखिएको छ ।
भारतमा जुन महिनामा वार्षिक मनसुन सुरु भएदेखि नै वर्षाको चपेटामा परेको छ र बाढी र पहिरोका कारण दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
गत महिना पश्चिमी राज्य महाराष्ट्रमा गएको भीषण पहिरोमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।
नदी नाला र भूमिगत पानीको पुनःपूर्तिका लागि मनसुनी वर्षा महत्वपूर्ण छ, तर जलप्रलयले पनि हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभरि चरम मौसमी घटनाहरूको सङ्ख्या बढाइरहेको छ, भारतमा बाँध, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेको छ ।