काठमाडौँ, १२ वैशाख (रासस)
प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्म पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरुकुलमा उहाँको योगदानबारे चर्चा गरिन्छ ।
दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । ‘शङ्कर शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्राय अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिनुभएको भन्ने विश्वास छ ।
वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले सुरु गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । सोह्र वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थलाई विवेचनसहित ब्याख्या(भाष्य) गर्नुभएको थियो । भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारत वर्षका कुनाकुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि उहाँ बताउनुहुन्छ ।
यसै क्रममा आद्य शङ्कराचार्यले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा श्रृङ्गेरी, गोवद्र्धन, शारदा र ज्योतिर्मठ चारवटा मठ स्थापना गर्नुभएको थियो । ती मठले क्रमश ः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म त्यसबेलासम्म प्रायः लुप्त भैसकेको थियो । आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरुपमा आइपुगेको हुँदा उहाँको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरुकुलमा पनि उहाँले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।
रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक
रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनुहुन्थ्यो । श्रीवैष्णव बन्नुभएका उहाँको भक्ति परम्परामा धेरै प्रभाव रहेको मानिन्छ । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेख्नुभएको थियो ।
सन् १०१७औँ वर्षमा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरुकुदुरु भन्ने गाउँमा उहाँको जन्म भएको थियो । वशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत उहाँ श्रीसम्प्रदायका आचार्य हुनुहन्थ्यो । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय ओझलमा परेको थियो । रामानुजले त्यो समस्या सफलतापूर्वक पार गराउनुभएको थियोे ।
रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेख्नुभएको थियो । रामानुजाचार्यले वेदान्त वाहेक सातौँ–दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनुभएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ ।
रामानुजले बाल्य कालको वैदिक शिक्षा प्रकाशराज नामक प्रखर विद्वान् गुरुबाट प्राप्त गर्नुभएको थियो । पछि उहाँ आलवन्दार यामुनाचार्यको मुख्य शिष्य हुनुभयो । रामानुजले गुरुको इच्छाअनुसार ब्रह्मसूत्र, विष्णुसहस्रनाम, र दिव्यप्रबन्धको व्याख्या गर्ने सङ्कल्प लिनुभएको थियो । हिन्दू धर्मको क्रमअनुसार उहाँ गृहस्थ आश्रम त्यागेर श्रीरङ्गममा रहेका यतिराज नामक सन्यासीसँग सन्यास आश्रमको दीक्षा प्राप्त गरी सन्यासी हुनुभएकाले उहाँको नाम यतिराज पनि रहन गयो । रामानुजले मैसूर नामक स्थानको श्रीरंगम छोडेर शालिग्राम नाम गरेको ठाउँमा १२ वर्षसम्म श्रीसम्प्रदायको प्रचार गर्नुभएको थियो । वैष्णव धर्मको प्रचारका लागि समग्र भारत हुँदै नेपालको मुक्तिनाथसम्म उहाँ आउनुभएको थियो । सन् ११३७ मा १२० वर्षको उमेरमा उहाँ ब्रह्मलीन हुनुभयो । रामानुजाचार्यले धेरै ग्रन्थको रचना गर्नुभएकामा ब्रह्मसूत्र माथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम् र वेदान्त सङ्ग्रह निकै लोकप्रिय छन् ।
रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत्को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् तत्व र अचित् अर्थात् प्रकृति तत्व । वस्तुतः यी चित् अर्थात् आत्मतत्व तथा अचित् अर्थात् प्रकृति तत्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । यी विशिष्टरूपले ब्रह्म (ईश्वर) को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वरमा नै आधारित छ । यसलाई नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त भनिने पण्डित देवकोटाको भनाइ छ ।