आज मिति २०८० वैशाख ०४ गते शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा
सि.सं.३० कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी श्री सिताराम खड्काले एक समारोहकाबीच
शुभारम्भ गर्नु भएको छ ।
समारोहलाई सम्बोधन गर्नु हुँदै बलाध्यक्ष रथी खड्काले तालिममा सरिक सम्पूर्ण स्वदेशी तथा
विदेशी शिक्षार्थीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिनुभयो । उहाँले प्रविधिको
विकाससँगै विविध क्षेत्रहरुमा भैरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि हुनुको
साथै Artificial Intelligence तथा विभिन्न उपकरणहरुको प्रयोगले Cyber Space मा थपिएका
चुनौतिहरुको बारेमा स्मरण गराउँदै त्यस्ता चुनौतिहरुको सामना गर्न तयार रहनुपर्ने बताउनु भयो ।
बलाध्यक्षले नेपालको आन्तरिक परिस्थिती, क्षेत्रीय अवस्था एवं बर्तमान विश्व परिवेशलाई दृष्टिगत
गर्दा सैनिक कारवाही एवं सैनिक कलाको उपयोगिता शान्ति, स्थिरता तथा मानव हितमा केन्द्रित
रहनु पर्ने आवश्यकता रहेको कुरा बताउनु भयो । वैधानिकता र जनताप्रतिको वफादारी नै सैनिक
कारवाहीको सफलताको आधार हो भन्नु हुँदै रथी श्री खड्काले तालिममा सहभागी शिक्षार्थीहरुले सदैव
यस वास्तविकतालाई मनन् गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सहभागी स्वदेशी तथा
विदेशी शिक्षार्थीहरुलाई भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौति सामना गर्न सक्ने ढंगले आफूलाई
तयार पार्ने गरी तालिम अवधिको सदुपयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै कलेजका शिक्षाधिकृत उपरथी श्री सन्तोष कुमार
ढकालले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्वका बारे प्रकाश पार्नुभयो । परम्परागत सैनिक
कारवाही लगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन
गर्न सक्षम स्टाफ अधिकृतहरु तयार गर्ने ढंगले तालिममा विविध विषयवस्तुहरु समेटिएको कुरा
समेत उपरथी ढकालले बताउनु भयो ।
मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण यस
तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जना सहित ५३ अधिकृतहरु लगायत नेपाल
प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना
अधिकृतहरु तथा मित्रराष्ट्र भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरिया १/१ जना गरी
६ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ६२ जना अधिकृतहरु सहभागी छन् ।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले वि.सं. २०५० भाद्र
२० गते १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको
थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको यस तालिमबाट हालसम्म नेपाली सेनाका
११२०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा
मन्त्रालयका १ र विदेशी १०८ गरी जम्मा १,२८६ जना शिक्षार्थी अधिकृतहरु प्रशिक्षित भइसकेका छन् ।
कार्यक्रममा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाली सेनाका
रथीवृन्दहरु, कलेजका पुर्व कमाण्डाण्टहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन
विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन, प्राध्यापकहरु, त्रिभुवन
विश्वविद्यालयका परिक्षा नियन्त्रक, रक्षा मन्त्रालयका सह सचिव, विभिन्न राष्ट्रका सैनिक सहचारीहरु,
विदेशी शिक्षार्थीहरुका Community Sponsors लगायत शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिती
रहेको थियो ।