काठमाडौँ । आज चैत्र ७ गते राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा विविध कार्यक्रमहरूसहित घोडेजात्रा मनाइएको छ ।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, घोडचढी आर्चरी, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्प, म्युजिकल राइड, हंगेरियन पोष्ट, डगद्वारा झण्डोतोलन, ड्रिल राइड, गार्ड डगबाट कला प्रदर्शन लगायत घोडेजात्राको ईतिहास समेटिएको गिति नाटक गुरुमापाको कथा प्रस्तुत गरिएको थियो ।
उक्त समारोहमा प्रमुख अतिथीले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने सह सेनानी रोजिना महत र सह सेनानी सफलता श्रेष्ठ तथा शो-जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी राजेश श्रेष्ठ र अमल्दार रामशरण न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभयो ।
त्यस अवसरमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, का.मु. प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष प्रतिनिधि सभाका सभामुखका साथै प्रधान सेनापति, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, महामहिम राजदुतहरु, पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकका सैनिक सहचारीहरु तथा सञ्चारकर्मीहरु उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको आरम्भमा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पाहार अर्पण गर्नु भएको थियो ।
घोडेजात्रा कार्यक्रम हेर्नका लागि टुँडिखेल वरपर ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
थप तस्बिरहरू: